My Two Cents Opinion

The Void for my emotions and experience

        निश्चित रूपमा यो नौलो बिषय होईन । तनाव मानिसहरूले भोगिरहेको, अनुभव गरिरहेको र जुझिरहेको अवस्था हो । म जब अलिकता केही जान्नेहुंदै थिएं मलाई तनाव भईरहेको कुरा अहिले सम्झन्छु । त्यसअघि मेरो शिशु अवस्थाको तनाव वारे मलाई अनुभव छैन । खासगरि मानिसले अनुभव गर्ने दुईवटा भावहरू हुंदा रहेछन् । समग्रमा यि दुईवटै भावहरू शारीरिक तथा वाह्य परिस्थिति अनुसार मानिसहरूमा भएको ज्ञान, बुध्दि, सहनशिलता र उसमा भएको क्षमता अनुसार उसले प्रतिकृया गर्दो रहेछ । जसमध्ये एउटा सकारात्मक भाव जसलाई सुख र अर्को नकारात्मक भाव जसलाई दुःख भन्न सकिन्छ । मैले बुझेसम्म प्रत्येक मानिसमा जन्मेदेखि मृत्युसम्मै यि दुई भावहरू जीवनसंग अनोन्यास्रित सम्बन्धमा रहन्छन् । जुनबेला शरीरले नकारात्मक स्थितिको सामना गरिरहेको हुन्छ त्यो अवस्थालाई जनाउने शब्द तनाव हो । जसलाई असामान्य परिस्थितिमा व्यक्त गरिने भाव शोक, दुःख, Stress, Pressure, Tension वा पिर, चिन्ता आदिको रूपमा पनि बुझ्न सकिन्छ ।
        तनाव सकृया वा निस्कृय भावमा जीवनभर रहन्छ । किनकि यो हाम्रो मानशिक साथि हो । एक वहुआयामिक शारीरिक प्रकृया हो । यो कुनै शारीरिक रोग पनि होईन तर कारण हो । शारीरिक रोगचाहिं किटाणु वा अन्य दुर्घटनाको कारण हुन्छन् । तनाव मश्तिष्कमा चेतनाको कारणबाट शुरू हुनेहुंदा यो सरूवारोग पनि होईन । अहिले संसारमा तनावको कारण र व्यवस्थापनका विषयमा आधुनिक चिकित्सा पध्दति, मनोविज्ञान परामर्श आदि कैयन भौतिक उपचारकेन्द्र तथा व्यवस्थापन सेल्टरहरू स्थापित छन् । जहां कारणहरू खोजिन्छ, जांच गरिन्छ, औषधि तथा अन्य विभिन्न विधिहरूबाट उपचार गरिन्छ । मैले यहां भौतिक उपचार आवश्यक छैन वा तनाव उत्पन्न हुने कारणहरू जसलाई मनोचिकित्सकहरूले यकिन गर्दछन लाई सहि होईन भन्न खोजेको होईन । तर सन्सारमा आविष्कार भएका औषधि लगायत अन्य यान्त्रिक उपकरणको माध्यमबाट समेत यसको स्थायी समाधान हुनसक्छ भन्ने यकिन कसैले गर्न सक्दैन र भएको पनि पाईदैन । केवल चिन्तागर्नु हुंदैन भन्ने कुरा मात्र काफि होईन । तनाव हुनै नदिन शायद असम्भवप्राय छ । तर भर्ईरहेका तनावहरूको व्यवस्थापन र कमसेकम तनाव उत्पन्न होस भन्नेकुरालाई मैले यहां समेट्ने प्रयास गरेको छु । हुनत म कुनै मनोविद वा बिषयगत विज्ञ होईन । म आफैले भोगेका, अनुभव र अध्ययन गरेका श्रोतहरूबाट अभ्यास गर्न सकिने देखिएका विषयहरूलाई समावेस गरेर यौटा पाठ्य सामाग्रिको रूपमा तयार गरेको छु । सम्पुर्ण यही हो भन्ने होईन तर भएको ज्ञान बांडे बढ्छ भन्ने आशय पनि हो । आशा छ तनाववारे जान्न उत्सुक वा आफ्ना सुझावहरू थप्न चाहनुहुने कसैले हौसला वा सुझाव सहितको प्रतिकृयाहरू पठाउनुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु ।
        जब हामी केही जान्ने अबस्थामा आउंछौं तब हाम्रा सामु परिवार, पेशा, व्यवसाय र अरूकेही महत्वाकाङ्क्षी सपनाहरू र अभिलाषाहरू जोडिएका हुन्छन् । केही आफ्नो शारीरिक, परिवारको आर्थिक अवस्था, सामाजिक र सांस्कृतिक अवस्थाहरू ह्न्छुन् । जसले हामीलाई आफ्नो लक्ष्य निर्धारण गर्न, अभिलाषा स्थापित हुन र अन्य केही कर्तव्यवोध हुन आत्मकेन्द्रित गरिरहेका हुन्छन् । हाम्रो शुरूआत जहांकहिंबाट भएको हो भन्ने हामीले अनुमान लगाएपनि विगत वा भविष्यसंग जोडेर हेरेपनि यो आंकलन वर्तमानबाट भईरहेको हुन्छ । विषय तनाव भएकोले यो विगतदेखि थियो वा भविष्यमा के यस्तै रहनेछ भन्ने कुरा होईन । तर वर्तमान क्षणमा ध्यान केन्द्रित गर्नुचाहिं महत्वपूर्ण कुरा हुनजान्छ । किनकि विगत वितिगएको छ र भविष्य आएकै छैन । प्रकृति लगायत मानवीय जिवनमा जतिपनि घटनाहरू ह्न्छुन् तिनीहरू कुनै न कुनै उद्धेश्यले प्रेरित हुंदछन् । सबैकुरा केवल संयोगमा सिमित हुंदैनन् । यहां तनाव उत्पन्न हुने केही प्रमुख कारणहरू उल्लेख गर्न सान्दर्भिक हुन्छ ।
१) प्राकृतिक एवं आन्तरिक शारीरिक कारण
        बाढी, पहिरो, भूकम्प आदि विभिन्न प्राकृतिक कारणहरूले मानिसहरूको भौतिक सम्पत्ति क्षती हुंदछ । जसका कारण पहिला भईरहेको अवस्था हुन बर्षौं लाग्दछ । त्यस्तै बिभिन्न दुर्घटना तथा रोगका कारण शरीरमा कष्ट पैदा हुन्छन् । यि दुबै कारणहरूबाट असहज स्थिति हुंदा त्यसबाट तनाव पैदा हुंदछ 
२) बुद्धिको बिकास हुंदैजानु
        यसमा धेरै व्याख्या गरिरहनुभन्दा एउटा बर्षदिनको बच्चा र अर्को बयस्कलाई उदाहरणको रूपमा लिन सकिन्छ । घरमा कुनै दुर्घटना भएको होस्, अभाव वा शोकको घडी वा उसकी आमा नै विरामी परेर थला परेकी किन नहोउन वर्षदिनमात्र पुगेको बच्चालाई उसको शारीरिक आवश्यकता वाहेक अरू कुनै कुराको पर्वाह हुंदैन । उ खेल्ने, रमाउने आफ्नो सहज दैनिक कार्यमा लागिरहेको हुन्छ । किनकि उसमा बुद्धिको बिकास भएको हुंदैन । उत्तिकैमा अर्को बयस्क भाई वा वहिनीलाई भने परिस्थितिले तनावग्रस्त बनाएको हुन्छ । किनकि उसको बुद्धि बिकास हुंदै गएको हुन्छ । जति बुद्धिको बिकास हुंदै जान्छ त्यत्तिनै आवश्यकता, अभिलाषा, लोभ लालच तथा चाहनाहरू प्नि बिकास हुन्छन् र तीमध्ये कति आफ्नो सामर्थ्यभन्दा वाहिरका हुन्छन् । साथसाथै बुद्धिकै कारण विगतका भूलहरू र भविष्यबारे थप चिन्ता पैदा गर्दछ जो तनावको कारण बन्न पुग्छ ।
३) सामाजिक तथा वैयक्तिक
        धेर थोर तलमाथि वाहेक विश्वको कुनैपनि देशमा समतामूलक सामाजिक व्यवस्था भएको पाईदैन । यसर्थ गरीब र धनीकोबिच विभेद, जातीयता र धर्मको विषयमा सांस्कृतिक र बैचारिक भिन्नता, बृत्ति बिकासमा असमानता आदि कारण गौरब महसुस नहुनु, सेवा र पेशाको असुरक्षा लगायत वैयक्तिक रूपमा आफ्नो रूप र आकारसंग सन्तुष्ट नहुनु, पारिवारिक बेमेल, सहभागिता र सम्बन्धमा दरार पैदाहुनु आदि पनि तनावका कारण भैरहेका हुन्छन् ।
४) नयां प्रबिधि
        सूचना प्रबिधि र नयां नीतिहरूका कारण पनि पहिलो र दोश्रो पुस्ताको बीचमा तनावको कारण बनिरहेको पाईन्छ । यसमा प्रबिधि नजान्नु, रूपान्तरण हुन नसक्नु, पुस्ताहरूको बीचमा तार्किक वहसको सट्टा एउटाले अर्कोलाई अशिक्षित, अन्धविश्वासी तथा अनाज्ञाकारीताको दृष्टिले हेर्नुजस्ता कुराहरू पनि तनावको कारण बनिरहेको हामी पाउंदछौं ।
        यद्यपी सबै तनावहरू नकारात्मक हुंदैनन् । केही तनावहरू सकारात्मक पनि हुन्छन् जस्तै कि बालबच्चाहरू कसरी हुर्काउने, पढ्न वा पढाउन, घर बनाउने काम, कुनैपनि चुनौतिको सामना कसरी गर्ने जस्ता कुराहरूको तनावले सकारात्मक उर्जा उत्सर्जन गर्न मद्दत गरिरहेका हुन्छन् ।
        तनाव जोकोहीलाई हुन्छ भईरहेको छ । यसको व्यवस्थापन त्यति सजिलो बिषय पनि होईन । संसारमा वैज्ञानिक खोज तथा अनुसन्धानहरूका माध्यमबाट मानवीय जिवनमा आराम, सुविधा तथा मनोरन्जनात्मक अनेकन प्रविधिहरू उपलव्ध छन् । साथसाथै प्रबिधिहरूसंगै मानिसको दुखपनि जोडिएको छ । मानिसहरूका लागि घण्टौं लगाएर यात्रा गर्नुपर्ने दूरीलाई आधुनिक सवारीसाधनले केहिवेरमा पुग्ने गरि छोट्याईदिएको छ । जाडो र गर्मीलाई सन्तुलन गर्ने उपकरणहरू छन् । रमाहट गर्नका लागि विभिन्नखाले मनोरन्जन, खेलकूद, रमणीय पार्क, विलाशिताका सामाग्रिहरू उपलव्ध छन् । स साना रोगहरू देखि जटिल सर्जरी आदि धेरै सुविधाहरू छन् । तर यि सवै सुविधाहरू, उपलव्धिहरूका बीच दुख साथसाथै छ । कुन त्यस्तो क्षेत्र जहां दुख नमिसिएको होस । प्रकृतिबाट आउने विपत्ति खै थाहा गर्न र रोक्न सकेको, शरीरका आन्तरिक कृयाहरूद्वारा रोग नै नलाग्ने वा शरीरमा चोटपटक नै लाग्न नसक्ने प्रविधि खै । के शोक मनाउनुपर्ने मृत्यु संधैका लागि अन्त्य हुन्छ त आदि प्रश्नहरूको उत्तर कालान्तरदेखि अनुत्तरित छ । मानिसहरू यसका निमित्त पनि लागिरहेका छन् । भोली मानिस कहिल्यै नमर्ने प्रविधि फेला परिहाल्यो भने त्यो कसले उपभोग गर्ला । किनकि पृथ्वीमा त्यत्तिनै मानिसमात्र अट्नेछन् जति यसको क्षमता छ । किनकि पृथ्वीको शरीर त त्यत्तिनै हुनेछ जति श्रृष्टिमा थियो । यसको आकार बढाउने क्षमता मानिसले राख्न सक्दैन बरू भोली मानिसले उत्पादन गरेका प्रबिधिहरूको गलत उपयोग भएको खण्डमा मानिस बस्न लायक नहुने अवस्था नआउला भन्न सकिदैन । तसर्थ दुख अर्थात तनाव त्यत्तिखेर पनि साथसाथै हुनेछ ।
        उपलव्ध विकसित प्रविधि र यसको उपयोगसंगै अध्यात्मिक श्रोतहरूतिर फर्केर चुनौतिहरूको सामना गर्न तत्पर रहनु तनाव व्यवस्थापनको स्थायि समाधान हुनसक्छ । तनाव त हामीले स्वीकार गर्नैपर्छ किनकि यो मृत्युसम्मै रहिरहने हाम्रो मानशिक साथी हो । फरक यसमा पर्छ कि हामी यसलाई कसरी जिवनमा स्वीकार्य बनाउन सक्छौं । एउटा अध्ययनले के देखाउंछ भने कुनै एउटा विषयमा हामीलाई तनाव भएको छ भने सहि अर्थमा आठ प्रतिशत त्यो तनाव हो । बांकी बयानव्वे प्रतिशत भने हाम्रो दिमागको उपज हो । यदि भूकम्प आईहाल्यो भने घर भत्किनसक्छ परिवार सदस्यमध्ये कोही मर्न सकिन्छ । सतर्कता अपनाउनु पहिलो कुरा हो तर भत्किईहाल्यो भने यस्तो होला त्यस्तो होला । कोही मरिहल्यो भने यस्तो होला त्यस्तो होला । भूकम्प आएकै छैन तर सोचाईमा भूकम्प आएपछि घर भत्किएको, मानिस मरेको नक्शा आउन थाल्यो । शरीरमा रोग लागेको छ, उपचार पनि हुंदैछ तर त्यस्तै रोगले उ मरेको थियो, त्यही रोग बढेर पछि उसलाई क्यान्सर भएको थियो आदि विभिन्न नक्शाहरू दिमागमा आउन थाल्यो । अर्थात भूकम्प आउने र क्षती हुनसक्ने सम्भावना आठ प्रतिशत हो भने भूकम्प आएपछि देखिने नक्शाहरू बयानव्वे प्रतिशत हुनजान्छन् जुन विल्कुलै नाजायज हुन । सवैखाले तनाव आएका परिस्थितिहरूमा यहि हुन्छन् । आवश्यकताभन्दा बढी हाम्रो सोचाईमा नक्शाहरू तयार हुंदछन् । एउटा गाडी चलाउंदै गरेको ड्राईभर जब आफ्नो गाडी दुर्घटना हुन लागेको तस्वीर आफ्नो दिमागमा तयार गर्न लाग्छ भने त्यो गाडी कत्तिको सुरक्षित तरीकाले गन्त्व्य स्थानसम्म पुग्ला । हाम्रो शरीर चलाउने मश्तिष्क पनि त त्यस्तै हो जहां हामी अनावश्यक धेरै कुराहरू सोच्न वाध्य परिदिन्छौं ।
        जव अस्विकार्य हुने परिस्थितिहरू प्रति ज्यादा सोच्न थाल्छौं त्यतिखेर हाम्रो मश्तिष्क जसले शरीरको भित्री संरचना प्रकृया तथा वाहिरी परिस्थितिहरू संचालन गर्न मार्ग दर्शन गरिरहेको हुन्छ र सोच्ने कामपनि त्यहि मश्तिष्कले नै गरिरहेको हुन्छलाई अनावश्यक भार पर्दछ । के गर्ने के नगर्ने भन्ने द्विविधामा काम गर्नुपर्दा उसले दिने आदेशहरू गडबड हुन थाल्दछन् । कसैले बोलेको कुरा ठिक ढंगले बुझ्न नसक्दा झर्को लाग्न थाल्दछ, रिस उठ्दछ । आमाशयमा खाना पचाउन चाहिने आवश्यक तत्वहरू मिश्रण हुनमा गडबड हुंदछ जसका कारण पेट सम्बन्धि समस्याहरू उत्पन्न हुंदछन् । अरूची हुन्छ भोक लाग्दैन । भोक लागेको आभास भएपनि खाना रूच्दैन । हाम्रो शरीरमा हुने रोगहरूमध्ये करीब नव्वे प्रतिशत रोगहरू पेटको कारणबाट हुंदछन् । अनावश्यक बोसो उत्पादन हुंदछ अर्थात मोटोपन, कोशिकाहरूमा खाना सप्लाई गर्ने इन्सोलिन बन्न कम हुंदछ अर्थात मधुमेह, बोसो बढी उत्पादन भएर रगतमा मिसिन थाल्छ अर्थात क्लोरेस्टोल, उच्चरक्तचाप । आलश्य, अनिद्रा आदि कुनैपनि सानो रोग ठूलो रूपमा विकसित हुन लाग्दछ किनकि पेटले राम्रोसंग काम नगरेपछि रगतमा कमी हुनुका साथ रोगप्रतिरोधात्मक क्षमता घट्दैजान्छ । किनकि दिमागमा त तनाव छ । विस्तारै निर्णय गर्ने क्षमतामा ह्रास आउंछ । अब के चाहियो रोगमा रोग, झगडामा झगडा, सबैकुरामा असन्तुष्टि नै असन्तुष्टि, सबै अव्यवस्थित । यहि बेलामा प्राय मानिसहरू दिमाग बहलाउन वहानामा अल्कोहलिक वा लागुऔषध दुर्व्यसन तिर लाग्ने हुन्छन् । शुरूमा अक्रोश्जनक तनाव व्यवस्थापन हुन नसक्दा हत्याजस्तो जगन्य अपराध र अन्य निराशा जनक अवस्थालाई व्यवस्था गर्न नसक्दा अन्तमा आत्महत्या जस्तो गम्भिर समस्यामा फस्नुको कारण पनि हुनजान्छ ।अब तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तर्फ हेरौं ।  

अध्यात्मिक दर्शनवेत्ता पावल भन्दछन् :

“Don’t worry about anything. But pray and ask God for everything you need. And when you pray, always give thanks.”…..

        यस भनाईबाट यो थाहा हुन्छ कि मानिसहरूलाई चिन्ता हुन्छ भन्ने कुरा अध्यात्म दर्शनले पनि स्विकार गर्दछ । यो भनाईमा चिन्ता नगर्नु मात्र भनिएको छैन । तिमीहरूलाई परेका कुराहरू जुनचाहिं चिन्ताफिक्रि वा तनावका विषयहरू छन् तिनीहरूको विषयमा यौटा बिन्ती पत्र (निवेदन) तयार गरेर धन्यवाद सहित आफ्नो ईश्वरकहाँ जाहेर गर । अलिकता अनौठो लाग्नसक्छ, अपत्यारिलो तर्क लाग्नसक्छ । ईश्वर जो प्रकृति र सबै ब्रम्हाण्डको उर्जा सर्वशक्तिमान भन्ने बुझाउंदछ । विज्ञानका दृष्टिले मानिस जन्मनु, प्रकृति हुनु, वायमण्डल वा ब्रम्हाण्ड हुनुका कुनैपनि कारण बताइए पनि त्यो हुनुको पछाडिको कारक तत्व वा रहस्य जबसम्म कुनै सृष्टिकर्ता छ भनेर बिश्वास गरिदैन तबसम्म यो रहस्यकै रूपमा रहनेछ । के सबैकुरा आकस्मिक थियो र, सबै एक संयोग मात्र हो र । भौतिकशास्त्रीहरू, जीवविज्ञानवेत्ताहरू र अरू वैज्ञानिकहरू जति वनस्पति, जीवहरू तथा ब्रम्हाण्डवारे सिक्दछन् त्यत्तिकै मानिस कति असाधारण संरचना छ र अन्य प्रकृति वनस्पति मानव जीवनलाई सम्भव तुल्याउन पुरै मानव अस्तित्वको लागि कति अनुकूल छ भन्ने कुराहरू हामी हाम्रो शारीरिक संरचना तथा प्राकृतिक रहस्यका वारेमा उनीहरूद्वारा प्रतिपादित शैक्षिक सामाग्रिहरूमा पाउंदछौं । एक आकस्मिक संयोगमा यि सबैकुराहरू सम्भव छन् ? अध्यात्म दर्शनमा यि अनुत्तरित प्रश्नहरूको एउटै जवाफ हुंदछ सृष्टिकर्ताले कुनैकाम आकस्मिकतामा गरेको होईन । हरेक चिज उत्पत्ति हुनमा (रचिनमा) कारण छ त्यो कारण भनेको प्रेम र सधाव हो । तनाव र वयवस्थापन सम्बन्धमा मैले माथि उल्लेख गरेको अध्यात्म दर्शनका दार्शनिकले भनेको उक्त भनाईलाई गहिरिएर मनन् गर्ने हो भने तनाव व्यवस्थापनमा महत्वपूर्ण सहायक हुनसक्दछ ।
(क) धन्यवाद दिने (Give Thanks)
        प्रश्न आउंछ असहज परिस्थिति , दुख, शोक, पिडा आदि तनावको स्थितिमा के कुरामा धन्यवाद दिने ? यहाँ धन्यवाद दिने भनिएको त्यसलाई हो जसले तपाईलाई भ्रुण अवस्थामा आमाको गर्भमा सृष्टि गर्‍यो । आमाले खाएको खानाबाट शरीरका विभिन्न प्रकृयाद्वारा तपाईको बिकास भयो । तपाई गर्भमा आउनुभएदेखि नै तपाईलाई जन्मदिने बुवाआमाको हृदयमा तपाई प्रति प्रेम उब्जियो । अहिले तपाई जुन अवस्थामा तनाव झेलिरहनुभएको होला यो अवस्थासम्म आउनका लागि तपाईका जीवनमा कस्ता कस्ता घटनाहरू घटे, कति जोखिम कति अप्ठेरो परिस्थितिहरूबाट गुज्रनुभयो । तपाई अहिले तनावमा हुनुहुन्छ भन्ने ज्ञानमा हुनुहुन्छ महसुस गर्नुहुन्छ यो सबै तपाईमा त्यत्तिकै संयोगले भएको त होईन । तिनै कुराहरूको लागि सृष्टिकर्तालाई धन्यवाद दिनुहोस । अहिलेको तनाव हुनुपर्ने विषय वाहेक तपाईको शरीरमा, परिवारमा, सम्बन्धहरूमा, तपाईसंग भएका चिजवस्तुहरू, मित्रहरू अरू कति धेरै कुराहरू छन् जुन सकारात्मक छन् तिनीहरूका लागि धन्यवाद दिनुहोस । जति तपाईसंग भएका सकारात्मक कुराहरू प्रति तपाई आत्मकेन्द्रित भएर धन्यवाद दिदै जानुहुन्छ ति वस्तुहरू तपाईले पाएको कुरा स्मरण गर्नुभएको लागि सृष्टिकर्ताको ध्यान तपाईतिर आकर्षित हुनेछ । एकैछिन दिमागले तपाईको शरीरमा सकारात्मक उर्जा संचार गर्न थालिसकेको हुनेछ । सन्सारमा मनोचिकित्सक (Psychiatrist) हरूले अपनाउने उपचार पद्धति पनि पहिला आफै strong हुनुपर्छ भन्नेमा अधारित हुंदछ । तपाई आफुमा भएका नकारात्मक होईन तर सकारात्मक गुणहरूको पहिचान गर्नुहोस । अरूले तपाईलाई चाहे जेसुकै भनोस तर तपाईले त आफुलाई नराम्रो नठान्नुहोस । आफुमा भएका सकारात्मक गुणहरू, तपाईमा भएको शक्ति पहिचान गर्नुभएन र वारम्वार सृष्टिकर्तालाई एकाग्र मनले धन्यवाद दिनुभएन भने वाहिरी तत्वले तपाईको शरीरमा डेरा जमाउने छ । तपाईको शरीर त एक मन्दिर हो जहां ईश्वर वास गर्न चाहानुहुन्छ । उहांको लागि उपयुक्त स्थान बनाउने जिम्मा तपाईको हो । अध्यात्म ज्ञानले तपाईको आत्मामा ईश्वर वास गर्ने स्थान बनाउन हामीलाई मद्दत पुग्दछ । भौतिक सिकाई र अध्यात्मिक सिकाई कसरी फरक हुन्छ भन्ने सम्बन्धमा एउटा सानो उधाराण प्रस्तुत गर्न चाहान्छु । भौतिक सिकाईः चोरी, डकैती, हत्या बलात्कार जस्ता अपराध गर्नुहुंदैन किनकि यसो गरियो भने प्रहरी आएर पक्डन्छ र न्यायाधिशहरूकहां पुर्‍याउंछ । अनि उनीहरूले देशको संविधान कानून अनुसार सजाय तोक्नेछन् । जरिवाना हुनेछ, जेल वस्नुपर्ने हुनसक्छ । त्यसैले त्यस्तो काम गर्नुहुंदैन । यो सिक्न जरूरी छ किनकि यसले मानिसमा डर पैदा गर्दछ र त्यस्ता कृयाकलाप हुनबाट रोक्दछ । अर्को उहि विषयमा अध्यात्मिक सिकाईः चोरी, डकैती, हत्या वलात्कार गर्नुहुंदैन । किनकि यसो गर्‍यो भने अरूलाई तकलिफ हुंदछ, पिडा हुंदछ । अरूलाई भएको तकलिफ र पिडाले हामीलाई कहिल्यै शान्ति हुंदैन न त जीवन छंदा न मृत्युमा । यो शिक्षाले मानिसको हृदयमा दया र करूणा पैदा गर्दछ । दया र करूणाको श्रोतचाहिं आत्मा हो जुन माथिनै चर्चा गरियो । स्थायी शान्तिको श्रोतपनि यहि हो ।
(ख) प्रार्थना, निवेदन सहित बिन्ति जाहेर गर्ने (Pray and Ask)
        हाम्रा हरेक आवश्यकताहरू जो हामीसंग उपलव्ध छैन भने या त आफुसंग भएको रूपैया पैसाले किन्नुपर्‍यो । नभए माग्नु पर्‍यो । जब हामी आफ्नो वशमा नभएको कुरा माग्ने चाहना राख्दैछौं त्योपनि कुनै मानिस वा समुदायसंग होईन तर अदृश्य सर्वशक्तिमानसंग भने अलिकता आफुलाई तयारी त गर्नुपर्दछ । यस्तो तैयारी कि उहांको ध्यान हामीतिर आकर्षित होस । उहांलाई आकर्षित हुन अनुरोध गर्ने तरीकाचाहिं प्रार्थना हो । अथवा प्रार्थना भनेको ब्रम्हाण्डमा अवस्थित महान उर्जासंग आफु जोडिने प्रयत्न गर्नु, उहांको उपकारको स्मरण गर्नु, उहांसंग नजिक भएर आश्वस्त हुनु हो । संस्कृतमा यस्तो लेखिएको छ ः “असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय । मृर्त्योंमाअमृतंगमय ।।” (उपनिषद) यसको अर्थ हुंदछ “हे प्रभु हामीलाई असत्यबाट सत्यतिर, अज्ञानताबाट ज्ञानतिर, अन्धकारबाट प्रकाशतिर र मृत्युबाट अमरतातिर लैजानुहोस ।” एकाग्र मनबाट यस्तो भाव उत्पन्नहुंदा हृदय पवित्रतातिर आकर्षित हुंदछ । पवित्रताचाहिं परमेश्वरको गुण हो जहां प्रेम, आनन्द, शान्ति, धैर्य जस्ता कुराहरू वास गर्दछन् । यिनै गुणहरूको अधिनमा रहंदै हामीले विनम्रतापूर्वक हाम्रा समस्याहरू समाधानकालागि निवेदनसाथ विन्ति गर्नुपर्दछ ।
        हामीले के माग्दैछौं र कति पाउंछौं त्यो हाम्रो बिश्वासमा भर पर्दछ । प्रार्थनासाथ निवेदन गर्नु एक अभ्यास हो । जसले हामीलाई सकारात्मकता तर्फ उन्मुख गराउंछ । हरेक परिस्थितिमा धैर्यता रहन आंफैमा रहेका सकारात्मक गुणहरूको पहिचान गर्नाले प्रेरणा मिलिरहन्छ । यो होईन कि हामीलाई तनाव छ आज केही खान मनछैन, कहिं जान मन छैन, आफ्नो घरकोठा सरसफाई दैनिक गर्नैपर्ने सामान्यकामहरू समेत मन छैन । त्यसो होईन आफ्नो दैनिक काममा लागिरहनाले हाम्रो दिमाग एउटै बिषयमा केन्द्रित हुन पाउंदैन । पटक पटक मन नलागेपनि पानी पिईरहनाले शरीरमा अतिरिक्त अक्सिजन प्रवाह हुन्छ जसले शारीरिक उर्जालाई जिवित र चलायमान भईरहन मद्दत पुग्छ । जिवनमा चुनौतिहरू आईरहन्छन् तिनिहरूमा आफ्नु क्षमता र उपलव्ध साधनश्रोतमा सिमित रहेर सकेको गर्नुपर्दछ । सबै मानिसमा केहि न केहि कमजोरीहरू ह्न्छुन् । शारीरिक दुर्बलता हुन्छ पिडा उत्पन्न हुने परिस्थिति हुन्छन् त्यसकुरालाई मनमा लिईराखेर दुखी भईरहनु हुंदैन । परिवारमा खुलेर कुरा गरौं, आदर र सहयोग गर्न तत्पर रहौं । बेलुका छिटै सुत्ने र विहान चांडै उठ्ने समय तालिका वनाऔं । फुर्सद मिलाएर मनोरञ्जन, खेलकूद तथा साथिभाईसंग कुनै प्रसंग वा विषयमा छलफल गरौं । प्राय हाम्रो समय कसले के बोलिरहेछ, के गरिरेछ, को असल को खराब, कसको आनिवानी कस्तो, कहां के भईरहेछ देशमा वा विदेशमा आदि बढी नै चासो र चिन्ता भईरहेको हुन्छ । म के गरिरहेछु, के बोलिरहेछु । मेरो काम गराई र बोलीव्यवहारले अरूलाई के सन्देश दिईरहेको छ भन्ने कुरा ओझेल परिरहेको हुन्छ । सन्सारमा मानिस खुशी हुने र सुखी रहने चाहना राख्दाराख्दै मर्दछ । बस्नलाई एउटा घर, बालबच्चा, जगेडा सम्पत्ति आदि के यहि कुरा मात्रै सुख हो र ? सन्सारमा हेर्‍यौं भने यस्तोपनि देख्छौं कि घरलाई महत्वपूर्ण ठान्ने मानिसहरू त्यहि घरभित्र सकसपूर्ण जीवन विताई रहेछन् । जब यौटै घरभित्र रहने बस्नेहरू बिच भावनात्मक निकटता छैन त्यहां फ्ल्याटमा एक एक जना बसेपनि के अर्थ रह्यो । भौतिक साधन सुविधाले मानिसको जीवन सहज वनाउंछ केही खुशी दिनसक्छ तर स्थायी हुंदैन । त्यसैले जसले हामीलाई सृष्टि गर्‍यो उसलाइ भनौं निवेदन गरौं हे प्रभो मलाई भाव दिनुहोस प्रेमको, आनन्दको, शान्तिको, धैर्य र दयागर्न सिकाउनुहोस । मैले एकाग्रचित्त भएर मलाई तनावमा ल्याउने परिस्थितिहरू तपाई सामुन्ने राखेको छु, तपाई आंफैपनि जान्नुहुंदछ । मलाई बिश्वास गर्ने हृदय दिनुहोस । म विचलित हुनेछैन । म खाली चिन्तातिर मात्रै आफ्नो मन लगाउने छैन । म आफुसंग भएको ज्ञान, सिप, साधनश्रोत सबै भलोहुने काममा प्रयोग गर्नेछु ।
शायद केहि राहत मिल्नेछ । जो मैले यो पढ्ने सामाग्रि वनाइसक्दा आफैलाई केही सन्तुष्टि र निकै ढुक्क महसुस भएको छ ।
धन्यवाद ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *